Rule 5
जग्गा सिफारिस गर्ने

(१) समितिले मुक्त कमैयालाई बसोबास तथा खेतीको लागि आवश्यक पर्ने जग्गा पहिचान गरी मन्त्रालय समक्ष सिफारिस गर्नेछ ।

(२) उपनियम (१) बमोजिम जग्गा सिफारिस गर्दा त्यस्तो जग्गा रहेको ठाउँ, कित्ता नम्बर, चार किल्ला, क्षेत्रफल तथा त्यस्तो जग्गामा बसोबास गराउन सकिने मुक्त कमैयाको सङ्ख्या समेत उल्लेख गर्नु पर्नेछ ।

(३) समितिले उपनियम (१) बमोजिम जग्गा सिफारिस गर्दा देहायका जग्गाहरुमध्येबाट बसोबास तथा खेतीका लागि सबै भन्दा उपयुक्त ठहर्याएको जग्गा सिफारिस गर्नु पर्नेछ ः–

(क) नेपाल सरकार, सरकारी कम्पनी, नेपाल सरकारद्धारा गठित समिति, आयोग वा विकास समिति ऐन, २०१३ अन्तर्गत गठित समितिका नाममा दर्ता भएको तर नेपाल सरकार, त्यस्तो कम्पनी, समिति वा आयोगले प्रयोग नगरेको जग्गा,

(ख) वन जङ्गल नभएको सार्वजनिक वा सरकारी जग्गा,

(ग) घना वन जङ्गल नभएको सामुदायिक वा अन्य वन क्षेत्रको जग्गा,

(घ) नदी धार तथा नदी सिमाना छुट््याई बाँकी रहेको सार्वजनिक वा सरकारी जग्गा,

(ङ) कुनै व्यक्तिको जग्गाको सिमानामा रहेको सार्वजनिक वा सरकारी जग्गा,

(च) मुक्त कमैयालाई एकपटक वितरण गरी नियम १० बमोजिम पुन नेपाल सरकारको नाममा कायम गरिएको जग्गा ।